
काठमाण्डु, ११ चैत– काठमाण्डु महानगरपालिकाले नदी किनारा मिचेर बनाइएका अनधिकृत संरचना अटाउन सात दिने अल्टिमेटम दिएको छ ।
महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै अवैध संरचना हटाउन भनेको हो । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिइएको सूचनामा उल्लेख छ ।
सूचनामा महानगरले यसअघि पनि पटकपटक सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनेको स्मरण गराएको छ ।
यदि एक साताभित्र त्यस्ता अवैध संरचना नहटाइए महानगर आफैंले भत्काउने र भत्काउँदा लागेको खर्च अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिबाट असुल्ने चेतावनी दिइएको छ ।