
काठमाण्डु,१० चैत– राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा आधाभन्दा बढी नेपाली परिवारले खाना पकाउन काठ दाउरा प्रयोग गर्ने गरेको पाइएको छ ।
देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठरदाउरा प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ मा बताइएको छ ।
नेपालमा खाना पकाउन अक्सर दाउरा, एलपी ग्याँस, बिजुली, गुइँठा, बायोग्याँस र मट्टितेल प्रयोग हुने गरेको छ । खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्ने परिवार जम्मा ०.५ प्रतिशत रहेको छ ।
गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः २.९, १.२, ०.०५ र ०.१ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।
नेपालमा हाल बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत छ । २०६८ मा ६७.३ प्रतिशत परिवारले बिजुली प्रयोग गर्दथे ।