प्रचण्डसँग सिके राउतका तीन माग

काठमाण्डु टुडे २०७९ चैत ४ गते २०:५५ मा प्रकाशित

काठमाण्डु, ४ चैत– जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीनवटा माग राखेका छन् ।

शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता साझेदार १० दलको बैठकमा आफूले प्रधानमन्त्रीसँग तीन विषयमा माग राखेको राउतले बताए । उनले मधेस आन्दोलनका शहीदहरुको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने माग राखे ।

सरकारले शनिबार जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गरेको थियो । यस्तै राउतले रासायनिक मलको मूल्य बढिरहेको भन्दै त्यसलाई रोक्न माग गरे ।

राउतले आफूले तत्काल सहमति हुन सक्ने प्रावधानहरु समेटेर नागरिकता विधेयक संसदमा पेश गर्न पनि माग गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘नागरिकता विधेयकमा तत्काल विवाद नहुने प्रावधानहरू मात्रै राखेर भए पनि अविलम्ब टेबल‌ गरिनु पर्ने र जन्मसिद्धका सन्तानहरूले भोगी राखेको नागरिकता समस्या समाधान गर्नुपर्ने विषय जनमत पार्टीको तर्फबाट उठाएको छु,’ राउतले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us