
काठमाण्डु,४ चैत–एमालेका सचिव गोकर्ण विष्टले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको बताएका छन ।
आज (शनिबार) प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिरका शक्ति केन्द्रको स्वार्थमा काम गरिरहेको टिप्पणी गरेका छन ।
उनले भने, ‘देशमा राजनीतिक अस्थिरता निम्त्याउने, अन्यौलता निम्त्याउने बर्बादीको दिशातिर लैजाने कामको नेतृत्व देशभित्र र बाहिर रहेका विभिन्न शक्तिकेन्द्रको आडमा वा उनीहरुको स्वार्थलाई सेवा पुर्याउने गरी उहाँले भूमिका निर्वाह गर्नुभएको छ’ ‘एकप्रकारले अस्थिरता निम्त्याउने कामको अगुवाइ, मुख्य भूमिका सम्माननीय प्रधानमन्त्रीले निर्वाह गर्नुभएको छ ।
यो उहाँको लागि स्वयं आफैंले थापेको धराप सावित हुनेछ ।’ उनले एमालेसँग मिलेर प्रचण्ड प्रधानमन्त्री बनेपनि २ महिना बित्न नपाउँदै सहमतिलाई तोडेर प्रचण्डले अवसरवाद देखाएको बताएका छन ।
उनले भने, ‘यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा प्रगतिको कालो बादलको रुपमा देखापरेको छ’ ।
उनले कांग्रेस, नेकपा माओवादी लगायतका पार्टीहरुले नेकपा एमालेका विरुद्ध बनाएको समीकरणको आयु धेरै लामो नभएको बताएका छन ।
सचिव विष्टले एमाले र कांग्रेस मिलेर सरकार बन्ने परिस्थिति तत्काल नरहेको बताएका छन । उनले सरकारले रासायनिक मलको अनुदान कटौती गरेर किसानलाई थप समस्यामा परेको बताएका छन ।