
काठमाण्डु,१ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा जान थालेपछि आफूहरूको मनमा ढ्याङ्ग्रो बजेको नभई चेतनाचाहिँ आएको बताएका छन ।
आज (बुधवार) काठमाण्डुमा नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
विप्लवले द्वन्द्वकालीन मुद्दाले सबै माओवादीलाई एक ठाउँमा ल्याएको बताएका छन । उनले आफूहरूले यस्ता धेरै ढ्याङग्रा पचाइसकेकाले केही नहुने पनि बताएका छन ।
पछिल्लो समय पार्टीहरू विदेशीको गोटी बन्नु नियति भएको समेत उनले बताएका छन । उनले भने, ‘एमालेले भन्छ माओवादी विदेशीको गोटी बन्यो । एमाले सरकार बन्यो भने माओवादीले विदेशीको गोटी बन्यो भन्छ ।
विदेशीको गोटी बन्नु नियति हो । यो बाध्यता हो’ , ‘संसदवादमा फसेपछि फन्को मारेपछि अगाडि बढ्ने हिम्मत नगरेपछि कसै न कसैको गोटी बन्नै पर्छ ।’उनले एमाले, माओवादी कांग्रेस गोटी बन्दा जनताले समेत सास्ती भोग्नुपर्ने भएकाले समस्या हुने बताएका छन । उनले भने, ‘कांग्रेस वा एमाले गोटी बन्दा एमाले कांग्रेस मात्रै भागीदार बन्ने भए केही हुने थिएन ।
देशको नेतृत्व गर्ने पार्टीहरू विदेशीको गोटी बन्दा देशले मूल्य चुकाउनुपर्छ । त्यसको मूल्य जनताले चुकाउनुपर्छ’ । उनले एमसीसी पास भएपछि अब जनताले कहिलेसम्म मूल्य चुकाउनुपर्ने हो त्यसको हिसाबकिताब नभएको बताएका छन ।