केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १८:२७ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– आयोजकको टिम केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज (सोमबार) भएको खेलमा केपी ओली फुटबल क्लबलाई मछिन्द्र फुटबल क्लबले १– ० ले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो सेमिफाइनलमा केपी ओली फुटबल क्लबलाई हराउन विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए ।

विमलले खेलको १९ औं मिनेटमा रजिन धिमालको पासमा गोल गरेका थिए । मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुदैछ । सातदोबाटोले बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराएर फाइनल पुगेको हो ।

नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ नगद र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us