यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १६:३४ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा आज सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२।१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाउन सफल भएका छन । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाएका थिए ।

छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरेका थिए । २६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए । ओपनर अर्जुन कुमालले १६ रन जोडे । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६।३ ओभरमा १२० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले २९ रन बनाएका थिए ।हङकङका लागि पाँचौं विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए ।

हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे ।हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।

आकाश चन्दले ८।३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब चौथो खेलमा २८ तारिख मलेसियाको सामना गर्ने छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us