सार्कलाई गतिशील बनाउन पहल गरेँ: मन्त्री पौडेल

काठमाण्डु टुडे २०७९ फागुन १५ गते १३:१८ मा प्रकाशित

काठमाण्डु,१५ फागुन– परराष्ट्रमन्त्री डा. बिमला राई पौडेलले बदलिँदो भूराजनीतिक अवस्थाका कारण परराष्ट्र नीति परिवर्तन गर्नु पर्ने ठहर गरेर नै आफूले नीति पुनरावलोकनको काम सुरु गरेको बताएकी छन ।

४२ दिनअघि परराष्ट्र मन्त्री नियुक्त भएकी उनले आफूले गरेका कामबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै उनले यस्तो बताएकी हुन । उनले परराष्ट्र नीति पुनरावलोकनको काम भइरहेको बताएकी छन ।

उनले परराष्ट्र नीति परिवर्तनका लागि नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको र अबको एक महिनामा प्रतिवेदन आउने पनि बताएकी छन । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई गतिशील बनाउनका लागि आफूले पहल गरेको पनि बताएकी छन ।

परराष्ट्रमन्त्री पौडेलले नेपालमा र विदेशमा रहेका नेपालीहरुका रादानी वितरण तथा नवीकरणको काम सहज बनाउन पनि काम गरेको पनि बताएकी छन ।

अवैतानिक दूतहरु भएका ठाउँमा उनीहरुलाई परिचालन गरेर विदेशमा रहेका नेपालीको राहदानी नवीकरण गर्न सक्ने नीतिगत व्यवस्था गरेको उनले बताइन् ।

स्वीट्जरल्याण्डमा हुने संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिने तयारी आफूले गरे पनि अन्तिम समयमा भ्रमण स्थगित भएको पनि उनले बताएकी छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नजान भनेपछि आफूले भ्रमण रोकेको र सल्लाहकार वा विज्ञको नेतृत्वमा टोली पठाइएको आफूले सुनेको परराष्ट्रमन्त्री राईले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us