नेपालको सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ: योगेश भट्टराई

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १३:१३ मा प्रकाशित

काठमाण्डु,३ फागुन– एमाले सांसद योगेश भट्टराईले नेपालको सडक वधशाला भइरहेकाले त्यसलाई रोकेर जीवनशाला बनाउन जरुरी भएको बताएका छन ।

आज (बुधबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ ।

जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’ उनले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र यातायात व्यवस्था विभागले लाइसेन्स आफै जाँच्ने दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा भइरहेको बताएका छन ।

उनले रोड सेप्टी काउन्सिल गठन गर्न माग गर्दै यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने पनि बताएका छन । साथै उनले नेपालमा दुई पाङग्रे सवारी साधनमा ७० प्रतिशत मृत्यु हुने गरेको भन्दै यस्ता विषयमा छलफल गर्न जरुरी भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us