गौशालामा लुटपाटको उद्देश्यले एक पुरुषको हत्या

काठमाण्डु टुडे २०७९ माघ २६ गते १५:४६ मा प्रकाशित

काठमाण्डु,२६ माघ– मंगलबार विहान काठमाण्डुको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले उक्त मृत भेटिएका पुरुषको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङका ३२ वर्षका रामबहादुर थापा रहेका छन । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन ।

प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का रहेका छन । थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसएसपी कार्कीले बताएका छन ।

थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us