गृह मन्त्रालय नपाए पनि रवि लामिछानेको दलले सरकार नछाड्ने !

काठमाण्डु टुडे २०७९ माघ २२ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने भएको छ ।

सरकारमा रहने नरहनेबारे निर्णय गर्न हिजो राति अबेरसम्म रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । बैठकमा गृह नपाए पनि सरकार छाड्न नहुनेमा बहुमत सदस्यले राय व्यक्त गरेका थिए । अदालतले नागरिकता अवैध ठहर गरेसँगै गृहमन्त्रीबाट पदमुक्त भएका सभापति रवि लामिछाने गैरसांसद हैसियतमा पुनः सोही मन्त्रालय फर्कन चाहन्छन् ।

आफ्नो चाहनाविपरीत बहुमत नेताहरु सरकारमै बस्नुपर्ने पक्षमा उभिएपछि लामिछाने पछि हटेका हुन् । लामिछानेले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर गृहमन्त्री दिन आग्रह गरेका थिए । तर, प्रचण्डले गृह दिन नसकिने अडान लिए । उनले गृहबाहेक आफ्नो दलले हाल सम्हाल्दै आएको अर्को कुनै मन्त्रालय दिन तयार रहेको बताए ।

जवाफमा लामिछानेले आफू पार्टीमा सल्लाह गरे निर्णय दिने बताएका थिए । श्रोतका अनुसार गृह पाए सरकारमा बस्ने र नपाए बाहिरिने नीतिले आफूहरुमाथि भरोसा गरेर मत दिएका मतादातमा सत्ताका लागि मरिहत्ते गरेको सन्देश जाने भएकाले त्यस्तो निर्णय गर्न नहुनेमा अधिकांश नेताको एक मत छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गृह मन्त्रालय आफूहरुको भागमा परेको र फेरि पाउनुपर्छ भन्नेमा पार्टीमा एक मत रहे पनि गृह नपाए सरकार छाड्ने पक्षमा आफूहरु नरहेको बताए ।

‘गृह पाए बस्ने, नपाए नबस्ने भन्ने निर्णय हामीले गर्नु हुँदैन’, उनले भने । एक केन्द्रीय सदस्यका अनुसार आज बस्ने भनिएको निर्णायक बैठकले सरकारमै रहने निर्णय गर्ने सम्भावना अधिक छ । रास्वपाले बिहीबार गृह नदिए सरकार छाड्ने अल्टिमेटम सहित दिएको दुई दिने समयसीमा आज सकिँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us