सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७९ माघ २० गते १२:४१ मा प्रकाशित

काठमाण्डु,२० माघ– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको आज शुक्रबारको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको छ ।

लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पुस २८ गते उच्च अदालत पाटनले आदेश दिएको थियो ।

उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us