केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेतालाई १० लाख

काठमाण्डु टुडे २०७९ माघ ११ गते १९:१९ मा प्रकाशित

काठमाण्डु, ११ माघ– एमाले अध्यक्ष केपी ओलीको नाममा खेलकुद प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एमाले सम्वद्ध युवा संघको आयोजनामा आगामी ११ फागुनदेखि १७ फागुनसम्म हुन लागेको ‘केपी ओली कप’ फुटबल प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएको छ ।

एन्फा महासचिव किरण राईले संघलाई केपी ओली कपका लागि अनुमति दिइएको बताए । ‘पूर्वप्रधानमन्त्रीको नाममा खेलकुद प्रतियोगिता हुनु राम्रो कुरा हो, एन्फाले अनुमति दिएको छ र प्रतियोगिताका लागि सकेको सहयोग पनि गर्छ ।’

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फाले जनाएको छ ।

प्रतियोगितामा ए डिभिजनका ८ टिम सहभागी हुने युवासंघले जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउँनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us