
काठमाण्डु,९माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।
निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन । उनले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान आग्रह गरेका छन ।
किरातीले निगमको बिजनेस प्लान पनि माग गरेका छन । उनले भने, ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’
‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’ वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?’ उनले अघि भने,‘ सबैको नजर भएको निगमलाई बनाउनु पर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाइयो, निगमले परिणाम देओस् ।’
उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा नेपाल वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरेका छन ।
राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताएका छन । मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिएका छन ।
उनले निगमसँग अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न समेत गरेका छन । एक महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिएका छन ।
उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए ।