
काठमाण्डु,२६ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस भएको बताएका छन ।
प्रचण्डले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताएका छन ।
प्रचण्डले भने, ‘ सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ । यो ऐतिहासिक समर्थनले मलाई निकै ठूलो गर्व र जिम्मेवारी थपिएको महसुस भएको छ । र मलाई आज न्याय पाएँ कि भन्ने लागेको छ’ ।
आफूले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, खस आर्य सबैको हक, अधिकार, पहिचान र उन्मुक्तिको लागि निकै ठूलो लडाई लडेको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
उनले भने, ‘ आजको समर्थनलाई मैले हाम्रो आन्दोलन र म प्रति ठूलो न्याय भएको महसुस गरेको छु’ उनले भने, ‘अब मेरो अगाडि चुनौती छ । यो न्याय दिने सदन र सबै राजनीतिक दलको विचार र भावनालाई सम्मान गर्नु चुनौती छ ।’