
काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको जानकारी दिएका छन ।
हिजो मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताएका छन ।
उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।
उनले पत्रकार सम्मेलनमा युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताएका छन । रोनाल्डो भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ ।
युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो । आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने, ‘म अनौठो छु, मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु ।
म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’ अल–नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताएका छन ।