नेपाल टी–२० मा पोखराको तेस्रो जित

काठमाण्डु टुडे २०७९ पुष १८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु,१८ पुस– काठमाण्डु नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो पटक विजयी भएको छ ।

पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए ।

उनले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए । चौथो विकेटका लागि सुमित आउट हुँदा पोखरालाई जितका लागि ७ बलमा ७ रनको आवश्यकता थियो । तर पाँचौ विकेटका रुपमा सिदार्थ लोहनी २ रनमै आउट भए ।

उनी आउँट हुँदा पोखरालाई जितका लागि अन्तिम ४ बलमा ४ रन आवाश्यक रहेको थियो । त्यसपछि आएका ब्याटर अमिर हम्जाले लेग बाई रन पाए र कुशल मल्ल स्ट्राइकमा आए ।

२ बलमा २ रन चाहिएको स्थितिमा कुशल मल्लले छक्का प्रहार गर्दै पोखरालाई जित दिलाएका थिए । काठमाण्डु नाइट्सका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।

अनिल खरेल र अभिनाश बोहोराले समान १–१ विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डु निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

काठमाण्डुका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाए । उनले २८ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै आक्रमक ब्याटिङ गरेका थिए ।

ओपनरद्वय विरनदिप सिंह र सुमन गौतमले क्रमशः ३२ र ४५ रन बनाए । पोखराका लागि तुल थापाले सर्वाधिक २ विकेट लिए । प्रतिश जिसी र कुशल मल्लले समान १–१ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us