कसले जित्ला गोल्डेन बुट? ,मेस्सी सबैभन्दा अगाडि

काठमाण्डु टुडे २०७९ पुष १ गते १२:४६ मा प्रकाशित

काठमाण्डु,१ पुस–कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको विजेता आइतबार टुंगो लाग्नेछ । उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ ।

आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ । गोल्डेन बुट भने प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।

यसपटकको विश्वकपमा गोल्डेन बुटको होडमा भने चार खेलाडी छन् । जसमा अर्जेन्टिनाका २ र फ्रान्सका २ जना रहेका छन ।

अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिना युलियन अल्भारेजले समान ४ गोल गरेका छन् ।

सम्भवतस् यी चारमध्ये एक खेलाडीले गोल्डेन बुट जित्नेछन् । यस्तै एक जनाले सिल्भर र एक जनाले ब्रोन्ज बल जित्नेछन् । सेमिफाइनलको खेलपछि अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि आएका छन् ।

नकआउट चरणको क्वार्टरफाइनल र सेमिफाइनलमा एमबाप्पेले गोल गर्न नसकेपछि मेसीले उनलाई भेट्टाएका छन् । मेसी र एमबाप्पेले समान ५ गोल गरेका छन् तर असिस्टमा मेसी अगाडि छन् ।

मेसीले ३ गोल असिस्ट गर्दा एमबाप्पेले २ असिस्ट मात्र गरेका छन् । अब यी दुईबीच फाइनल खेलमा पनि गोल गर्दै अवार्ड जित्नका लागि टक्कर हुने देखीएको छ ।

मेसीले नकआउट चरणको तीनवटै खेलमा गोल गरे । समूह चरणमा ३ गोल गरेका एमबाप्पेले भने नकआउट चरणको अन्तिम १६ मा मात्र गोल गरे । उनले अन्तिम १६ मा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए ।

३५ वर्षीय मेसीले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेलमा गोल गरेका छन् । २३ वर्षीय युवा स्टार एमबाप्पेले समूह डी को पहिलो खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा गोलको खाता खोलेका थिए भने दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे ।

हाल गोल्डेन बुटको दाबेदारीमा दोस्रो स्थानमा रहेका एम्बाप्पेले लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

मेसी र एमबाप्पेलाई गोल्डेन बुटको होडमा पछ्याइरहेको अर्जेन्टिनाका युलियन अल्भारेज र फ्रान्सका ओलिभर जिरुडले समान ४ गोल गरेका छन् । दुवैले असिस्ट भने गरेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us