
काठमाण्डु,२८ मंसिर– मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले इतिहार रच्ने आफ्नो टिमका लागि विश्वकप पुग्नुमा मात्र सन्तुष्ट हुन नहुने बताएका छन् । आज हुने विश्वकप दोस्रो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्ने आशा उनको छ ।
फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको ९२ वर्षको इतिहासमा पहिलोपल्ट अरब र अफ्रिकी देश सेमिफाइनलमा पुगेको हो ।
प्रशिक्षक रेग्रागुईले पत्रकार सम्मेलनमा भने, हामी थुप्रै विश्वस्तरीय खेलाडी र एक निकै उत्कृष्ट प्रशिक्षकका साथ विश्व च्याम्पियनसँग खेल्न गइरहेका छौं,’ मोरक्कन राष्ट्रिय टिमका पूर्व खेलाडीसमेत रहेका उनले ‘हामी उत्कृष्ट फुटबल खेल्नेछौं र उनीहरुलाई कमजोर बनाउने प्रयास गर्नेछौं । हामी विश्वकप फाइनलमा किन नपुग्ने हामी सपना देख्न सक्छौं । सपना देख्नका लागि कुनै खर्च लाग्दैन ।’
क्लब करिअरमा फ्रान्सेली टोली टोउलोसबाट खेलेका रेग्रागुईका अनुसार उनको टिम विश्वकपको उपाधि दावेदार नहुनाका बाबजुद अझै ठूलो सफलताका लागि भोको छ ।
‘यो नै पर्याप्त हो भन्ने मलाई लाग्दैन । मलाई थाहा छ, हामी प्रतियोगिताको दावेदार टिम होइनौं तर, हामी आत्मविश्वासी छौं,’ उनले थपे, ‘अरव देश र अफ्रिकी देशका लागि हामी भिड्न जाादैछौं ।’
मोरक्कोले विश्वकप सेमिफाइनलसम्मको मार्गमा बेल्जियम, स्पेन र पोर्चुगलजस्ता महाशक्ति देशहरुलाई पराजित गरेको छ । पाँच खेलमा उसले एक गोलमात्र खाएको छ । त्यो पनि आत्मघाती गोलमार्फत ।
कतारमा आफ्नो आश्चर्यजनक सफलताअघि यो टिम सन् १९८६ मा केवल एकपल्ट विश्वकपको नकआउट चरणमा पुगेको थियो । त्यतिबेला अन्तिम १६ को खेलमा पोर्चुगलसँग पराजित थियो ।