
काठमाण्डु,२८ मंसिर– अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ आफ्नो अन्तिम विश्वकप भएको बताएका छन ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।
दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । खेलपछि उनलेले भने, ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ ।
यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ ।
म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो । ’ ३५ वर्षका मेस्सीको यो पाँचौं विश्वकप हो ।
मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन् । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।