
काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । यो सँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ ।
विश्वकपमा ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का हो । विश्वकपमा गोल्डेन बुट अवार्ड एक हो ।
प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदी एक भन्दा बढी खेलाडीले समान गोल गरेमा गोलका लागि गरेको सहयोग गणना गरिन्छ ।
यदी एक भन्दा बढी खेलाडी गोल र एसिस्ट पनि उति नै गरेका छन् भने प्रतियोगितामा थोरै मिनेट खेलेको आधारमा विजेता छानिनेछ । धेरै गोल गर्नेमा दोस्रो हुनेले शिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउँदछन ।
चार वर्षअघि रुसमा भएको विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसपटक केनको टिम क्वाटरफाइनलबाटै बाहिरिसकेको छ ।
सेमिफाइनलमा पुगेका चार मध्ये फ्रान्स र अर्जेन्टिनाका खेलाडी गोल्डेन बुटको दौडमा अगाडि छन् । फ्रान्सका किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै ओलिभर जिरुड र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले समान ४ गोल गरेका छन् ।
तीन गोल गर्ने ७ खेलाडी भने बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको छ ।
पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए । पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी भएका छन ।