क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हारले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ ’

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १२:२४ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि हार लामो समयसम्म याद रहिरहने बताएका छन् ।

शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

क्रोएसियाको यो प्रदर्शन विश्वभरका खेलप्रेमीका लागि स्तब्ध थियो । हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।विश्वकपबाट बाहिरिए सँगै उनले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु ।

यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ । दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ ।’ मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’

उनले फेरी थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।’

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने बताएका छन । नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् ।

१२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् । खेल सकिएपछि नेयमार मैदानमा बसेर रुन थालेका थिय । मैदानबाट निस्कँदा पनि उनी रोइरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us