
काठमाण्डु,२१ मंसिर–पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई रणनीतिक अनुरुप नै बेञ्चमा राखिएको बताए ।
स्वीट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेञ्चमा राख्नुलाई धेरैले अनेक तरिकाले व्याख्या गरिरहँदा प्रशिक्षक सान्तोषले रोनाल्डोलाई बेञ्चमा राखेर गोन्सालो रामोसलाई खेलाउनु टिम रणनीतिको हिस्सा भएको बताएका छन ।
पोर्चुगलले समूह चरणमा दक्षिण कोरियासँग २–१ को हार बेहोरेसँगै रोनाल्डोको व्यवहारका कारण उनलाई अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध नखेलाइएको केहि सञ्चारमाध्यमले बताएका थिय ।
सान्तोषले भने, ‘कप्तान रोनाल्डोलाई बाहिर राख्नुको अरु कुनै कारण छैन । हामीले रणनीतिक रुपमै यो निर्णय गरेका हौं । उनको स्थानमा पहिलो रोजाईमा परेका रामोसले ह्याट्रिकसँगै एक पास पनि मिलाए ।’
स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेपछि पत्रकारहरुसँग बोल्दै प्रशिक्षक फर्नान्डोले भने, ‘मैले पहिला पनि रोनाल्डोलाई बाहिर राख्नुको कारण भनिसकेको छु । म यसबारे फेरि पनि भन्न चाहन्न ।
रामोस र रोनाल्डो दुवै फरक खेलाडी हुन् । सबै खेलाडी फरक छन् । मैले डालोट राफेललाई पनि पहिलो रोजाईमा खेलाएको थिएँ । तर गोन्सालो पनि एक उत्कृष्ट खेलाडी हुन् ।
मैले स्वीट्जरल्यान्डविरुद्धको खेलमा आवश्यकता अनुसार परिवर्तन गरेको हुँ ।’यसअघि समूह चरणमा दक्षिण कोरियासँगको हारमा रोनाल्डो निकै निराश र हतोत्साहित देखिएका थिए ।
उनको व्यवहारका कारण उनलाई बाहिर राखिएको भन्ने चर्चा भने उनले म्यानचेस्टर युनाइटेड छोडेपछि अत्याधिक भएको हो । फर्नान्डो र रोनाल्डोबीच केही समस्या छैन । हामी लामो समयदेखि साथी हौं ।
यस्ता अरोप र हल्लाहरुले हामीलाई असर गर्दैन । मैले यो कुरा पहिला पनि भनिसकेको छु । यो एक वैकल्पिक रणनीति थियो । रोनाल्डो एक उत्कृष्ट कप्तान हुन्,’ सन् २०१४ यता पोर्चुगलको प्रमुख प्रशिक्षक ६८ वर्षीय सान्तोषले भने ।