
काठमाण्डु,२१ मंसिर– संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ ।
मङ्सिर २१ गते बुधबार संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।
संघीय संसदका महासचिव डा भरतराज उप्रेतीबाट जारी गरिएको पत्रमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत पत्र दिएर बतइएको छ ।
पत्र सङ्ख्या ०७९र८०, चलानी नम्बर ७ बाट जारी पत्रमा पुरानो सांसदको कार्यकाल सकिएको कारण महाभियोग पनि निष्प्रभावी भएको भनिएको छ ।
संसद् सचिवालयले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र पठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जाने तयारीमा छन् ।
जबरा प्रधानन्यायाधीशकै रूपमा सर्वोच्च अदालत आएर हाजिर गर्ने तयारी गरे पनि इजलासमा नबस्ने बताइसकेका छन् । ६५ वर्षे उमेर हदका कारण आगामी मङ्सिर २७ गते अनिवार्य अवकाशमा जान लागेका जबराले ७ दिनअघि पत्र बुझेर सर्वोच्च फर्किएपछि के गर्छन् भन्ने चासो छ । सर्वोच्चमा हाजिर भएर जबरा बिदामा बस्छन् वा बाँकी ७ दिन सर्वोच्चमै उपस्थित हुन्छन् भन्ने निर्णय भइसकेको छैन ।