फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १२:११ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ ।

यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो ।

स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो ।

यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us