
काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ को सर्वाधिक गोलकर्ताको होडमा फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे अगाडि रहेका छन् ।
अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् ।
एमबाप्पेको २ र ओलिभर जिरुडको एक गोल मद्दतमा पोल्याण्डलाई ३–१ ले हराएर फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले कम्तीमा पनि अझै एक खेल खेल्ने पक्का छ । त्यसमा पनि गोल गरेमा एमबाप्पेले गोल संख्या अझ बढाउनेछन् ।
सन् २००६ र २०१० को विश्वकपमा ५ गोल गर्ने खेलाडी सर्वाधिक गोलकर्ता बनेका थिए भने २०१४ र २०१८ मा ६ गोल गर्ने खेलाडीले नै गोल्डेन बुट जितेका थिए ।
जारी विश्वकपमा एमबापेपछि धेरै गोल गर्नेमा लिओनल मेसी, अल्भारो मोराटा, मार्कुस रासफोर्ड र कोडी गाक्पो छन् ।