
काठमाण्डु,१५ मंसिर– मेक्सिको विश्वकपबाट बाहिरिएको छ । मेक्सिकोले साउदी अरेबियालाई २–१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
समूह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायोे । लुसेल रंगशालामा मेक्सिको पनि २–० गोलले नै अगाडि थियो । त्यति बेलासम्म समान अंक र गोलअन्तर भए पनि फिफा फेयर प्लेको नियमका आधारमा पछाडि नै थियो ।
त्यसैले मेक्सिलोलाई थप एक गोलको आवश्यकता थियो । साउदीका लागि सलिम अल दावसारीले सोही समयमा एक गोल फर्काए र स्तब्ध मेक्सिको पक्षलाई घर पठाइदिए । यो नतिजाले पोल्याण्डलाई खुसी भएको छ ।
बिभिन्न उतारचडावका बीच मेक्सिको पहिलो हाफमा केहि लयमा देखिएको थियो । दोस्रो हाफको दुई मिनेटमा सेसार मोन्टेसको फ्लिकमा हेनरी मार्टिनले गोल गरेपछि मेक्सिको खेलमा हाबी हुन थालेको हो ।