चुनाव हारेका माओवादीका दुई मन्त्री हटाउने तयारी

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १८:०७ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा माओवादी केन्दले चुनावमा पराजित भएका मन्त्रीहरुलाई राजीनामा गराउने तयारी गरेको छ ।

माओवादीबाट सरकारमा सहभागी ऊर्जामन्त्री पम्फा भुसाल र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई राजीनामा गराउने भएको हो ।

भुसाल ललितपुर–३ बाट प्रतिनिधिसभामा पराजित भएकी थिइन् । उनी स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग फराकिलो मतान्तरले पराजित भएकी हुन् । कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा तेश्रो भएकी भुसालले ८ हजार ७ सय ६९ मत पाइन् ।

यस्तै बाँके–१ बाट उम्मेदवार रहेका मन्त्री गहतराज एमालेका सूर्य सूर्य ढकालसँग पाँच हजार ३ सय ९४ मतान्तरले पराजित भए । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार दुवै मन्त्रीलाई राजीनामा दिन भनिएको छ । ‘चुनाव हारेका मन्त्रीहरुलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव गरिएको छ’, खुमलटार श्रोतले भन्यो, ‘सम्भवतः एक÷दुई दिनभित्रै उहाँहरुले राजीनामा दिनुहुन्छ होला ।’

४ मंसिरमा सम्पन्न निर्वाचनमा संघीय सरकारका ६ बहालवालामन्त्री पराजित भएका छन् । त्यसरी पराजित हुनेमा माओवादीका भुसाल र गहतराज, काँग्रेसका गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी र राज्यमन्त्री उमेश श्रेष्ठ तथा एकीकृत समाजवादीबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ छन् ।

खाँण रुपन्देही–३, उमाकान्त चौधरी बारा–१, श्रेष्ठ चितवन–२, भुसाल ललितपुर–३, गहतराज बाँके–१ र श्रेष्ठ काठमाण्डु–८ बाट पराजित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us