काठमाण्डु,१ मंसिर– अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई ५–० ले पराजित गरेको छ ।
खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याएको छ । लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा रहेको छ ।
सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हारकै । कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेका छन ।
डि मारियाले दुई गोल गरे भने मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरेका छन । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको थियो ।
कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ ।