विराटनगरमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री

काठमाण्डु टुडे २०७९ असोज १५ गते १५:४७ मा प्रकाशित

विराटनगर,१५ असोज– विराटनगरमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सहितको टोली अनुगमनमा निस्केको थियो ।

विराटनगर महानगरका मेयर कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो । विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ ।

त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि नम्बर मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए ।

उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको बताएका छन । केही पसलले मासुमा स्वास्थ्यका लागि हानिकारक रङसमेत प्रयोग गर्ने गरेको भेटिएको थियो । त्यस्ता मासुको अनुगमन टोलीले तत्कालै छाला निकाल्न निर्देशन दिएको थियो । प्रमुख कोइरालाले अब फेरि रङ दलेको भेटिए पसल नै शिल गर्ने चेतावनी दिएका थिय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us