केपी ओलीको आग्रहमा अर्बपतिकी बहिनीका लागि धनुषा–३ छाड्दै राजेन्द्र महतो

काठमाण्डु टुडे २०७९ असोज १४ गते २१:५८ मा प्रकाशित

काठमाण्डु, १४ असोज–एमाले अध्यक्ष केपी ओलीको साथ नपाउने भएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर–३ छाड्ने भएका छन् ।

महतो ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । महतोलाई भित्रभित्रै एमाले अध्यक्ष ओलीको समर्थन थियो । ओलीको साथ पाएका महतोले काँग्रेस नेता विमलेन्द्र निधिलाई हराएका थिए । तर, ओलीले ययसपटक साथ दिन नसकिने बताएपछि महतोले सो क्षेत्र छाड्न लागेका हुन् ।

उनले सर्लाही–२ ताकेका छन् । ‘यसपटक धनुषा–३ बाट होइन, सर्लाही–२ बाट उम्मेदवार बन्ने तयारीमा छु’, महतोले काठमाण्डुटुडेसँग भने । तर सर्लाही–२ मा भने एमालेले आफूलाई समर्थन गर्ने उनको भनाइ थियो ।

‘हामी तालमेल पनि गर्दैछौं, मेरो अहिलेको क्षेत्रमा जुलीजीलाई हामी सहयोग गर्छौं’, उनले भने । एमाले अध्यक्ष ओलीले जुलीका लागि उक्त क्षेत्र छाडिदिन आग्रह गरेको महताले बताए । सर्लाही–२ मा जिताउने जिम्मा आलीले लिएको पनि दाबी गरे ।

ओलीले गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोकी बहिनी जुलीकुमारी महतोलाई घनुषा–३ बाट उम्मेदवार बनाउने भएका छन् ।
जुली एमाले नेता रघुवीर महासेठकी पत्नी पनि हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us