गणेश तिमिल्सिनालाई आयोगको पत्रः संसदको कार्यकाल तोक्ने हामीले होइन

काठमाण्डु टुडे २०७९ असोज ९ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, ९ असोज– निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आफूले निश्चित गर्ने विषय नभएको स्पष्ट गरेको छ ।

आयोगले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई पत्र पठाउँदै आयोगको काम प्रतिनिधिसभाको कार्यकाल तोक्ने नभएको जवाफ फर्काएको हो । तिमिल्सिनाले सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसाल गौतमको कार्यकाल सकिएपछि पनि कार्यालय आइरहेको भन्दै आयोगमा पत्राचार गरेका थिए ।

२ असोजमा प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएसँगै सभामुख र उपसभामुख पदमुक्त भएको जिकिर तिमिल्सिनाको थियो । ‘निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिन्छ’, आयोगले तिमिल्सिनालाई पठाएको पत्रमा भनेको छ ।

सरकारबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको लागि निर्वाचनको मिति तोकिई मतपत्र छपाई समेत गरी निर्वाचनको सघन रुपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधार मानी प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यको कार्यावधि निक्र्यौल हुनुपर्छ भन्ने आयोगको मत पत्रमा उल्लेख छ ।

व्यवस्थापिका संसदमा रुपान्तरण भएको संविधानसभाको कार्यकाल उम्मेदवारको बन्दसूची पेश हुने अघिल्लो दिनसम्म मात्र रेहको नजिर आयोगले औंल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us