प्रणाली फेरिए पनि शासकको प्रवृत्ति नफेरिँदा नागरिकलाई दुःख

काठमाण्डु टुडे २०७९ असोज ३ गते ७:४३ मा प्रकाशित

काठमाण्डु, ३ असोज– ३ असोज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बित्यो । २००४ सालमा संवैधानिक विकासको क्रम सुरु भएसँगै संविधान बन्ने क्रम सुरु भयो ।

त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ तर नागरिकका तमाम खाले समस्या समाधान हुन सकेको छैन भने विकास र समृद्धिप्रतिको आशा र अपेक्षामा पनि सुधार आउन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकले दुःख पाउने क्रम घटेको छैन ।

संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ । निश्चित समय सीमाभित्र कानुन बनाई सक्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका कारण मौलिक हकसम्बन्धी १७ वटा ऐन बनेकै चार वर्ष पुगेको छ ।

तर, संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनुभूति आम नागरिकले हालसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । शासकले नागरिकको मौलिक हकमाथि खेलाँची गरिरहेको पाइएको छ । जसले आम नागरिकलाई दुखी बनाएको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us