भारी मतले जिताउनुस्, प्रधानमन्त्री बन्छुः प्रकाशमान

काठमाण्डु टुडे २०७९ भदौ २५ गते १६:५७ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– कांग्रेसका नेता प्रकाशमान सिंहले ४ मंसिरको निर्वाचनमा आफूलाई भारी मतले जिटाउन काठमाण्डु–१ का मतदातालाई अपिल गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सिंहले आफूलाई जिताए प्रधानमन्त्री बन्ने दाबी गरे । तर, त्यसका लागि धेरै मतले जित्नुपर्ने उनको भनाइ थियो । ‘भारी मतले जिताउनुस् । यत्रो जनमत लिएर आएको छ । यसलाई त अब रोक्न सकिंदैन भनेर पार्न सकियो भने मौका आइरहेको छ’, उनले भने, ‘ त्यसका लागि सोच्नुपर्यो ।’

सिंहले आफूहरु पैसा कमाउन नभई जनताको सेवा गर्न राजनीतिमा लागेको दाबी गरे । जनताको वास्तविक जीवनमा परिवर्तन ल्याउने गरी काम गर्ने भिजन आफूसँग रहेको दाबी उनको छ ।

देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा युवा र महिलालाई तालिम दिएर स्वरोजगार बनाउन सकिए देशको विकास हुने सिंहले उल्लेख गरे । सबै क्षेत्रमा होटल व्यवस्थापन, मोबाइल, कम्प्युटर तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा सिंहले जोड दिए ।

सिंहले राम्रो नेतालाई पुरानो भनेर हटाउँदा नयाँका नाममा खराब मानिस आउन सक्नेबारे जनतमले ख्याल गर्नुपर्ने विचार व्यक्त गरे । अनुभवहीन नयाँ मानिसहरु संसदमा पुगे पनि उनीहरुले काम गर्न नसक्ने जिकिर सिंहको थियो ।

फरक प्रसंगमा उनले एमाले अध्यक्ष केपी ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाए । ओली नेतृत्वको सरकारले तीन वर्षसम्म कानुन बनाएर नदिएका कारण स्थानीय र प्रदेस सरकारमाथि प्रश्न उठेको दाबी उनले गरे ।

कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us