काठमाण्डु, २३ भदौ– राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कार आरोपबारे नेपाल फर्किएपछि बोल्ने प्रतिक्रिया दिएका छन् ।
लामिछानेविरुद्ध १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा मंगलबार गौशाला प्रहरीमा पीडितका तर्फबाट जाहेरी दर्ता भएको थियो । नेपाल क्रिकेट संघका पदाधिकारीको सम्पर्कमा आएका लामिछानेले आफू नेपाल आएपछि आरोपबारे बोल्ने बताएका हुन् ।
लामिछाने तीन एक दिवसीय र पाँच टि–२० क्रिकेट खेल्न गत ६ भदौमा नेपाली टोलीको नेतृत्व गर्दै केन्या गएका थिए । केन्यासँगको खेलपछि उतैबाट लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न हाल वेस्टइण्डिजमा छन् ।
‘नेपाल आएपछि ममाथिको आरोपबारे बोल्छु’, नेपाल क्रिकेट संघ (क्यान) का एक पदाधिकारीले भने, अहिले खेलमा व्यस्त छु, यसबारे केही भन्नु छैन ।’ लामिछाने सम्पर्कमा आएपछि क्यान उनीमाथि छानबिन गरी निलम्बन गर्ने निर्णयबाट पछि हटेको छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपमाथिको आरोप प्रमाणित हुने आधार नभेटिएसम्म छानबिन अघि नबढाउने स्पष्ट गरे । उनले नेपालको प्रतिनिधित्व गरेर विदेश गएका खेलाडीबारे बास्तविकता नबुझी तत्काल कारबाही अघि बढाउनु गलत हुने तर्क गरे । ‘आरोप लाग्दैमा निलम्बन गरिहाल्ने भन्ने हुँदैन’, चन्दले भने, ‘कानूनअनुसार आरोप प्रमाणित भए कारबाही हुन्छ, तर अहिल्यै केही निर्णय गर्ने कुरा भएन ।’
केन्या प्रस्थान गर्नुअघि ५ भदौमा १५ वर्षीया किशोरीलाई एयरपोर्टस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ । लामिछानेले किशोरीलाई काठमाण्डु र भक्तपुरको नगरकोटसहित विभिन्न स्थानमा दिनभर आफ्नै गाडीमा घुमाएर राति होटलमा लगी बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
काठमाण्डु प्रहरीले लामिछानेमाथिको आरोप प्रमाणित गर्ने आधार खोज्ने क्रममा उनीहरु बसेको भनिएको होटलको सिसीटिभी दृश्य फेला पारेको छ । उक्त दृश्यमा लामिछाने ५ भदौको राति ११ः५५ मा किशोरीसहित होटल प्रवेश गरेको र भोलिपल्ट बिहान ६ः३० बजे बाहिरिएको देखिएको छ ।