काठमाण्डू, १४ भदौ– एमाले नेता महेश बस्नेतले सामाजिकसञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी दिने तयारी गरेका छन् ।
उनले माओवादी निकट वाइसीएलका कार्यकर्ताविरुद्ध साइबर अपराधको मुद्दा दर्ताको तयारी गरेका हुन् । वाईसीएलले महेश बस्नेत लखेटिएको भन्दै माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताबीच स्थानीय चुनावका बेला भएको आन्तरिक विवादको भिडियो पोष्ट गरिएको हो ।
माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा सभामुख अग्नि सापकोटाका भाई कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले हुलदंगा गरेको थियो ।
माओवादी कार्यकर्ताले सोही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेतलाई वाइसीएलले खेदेको दाबी गरिरहेका छन् ।
‘माओवादी केन्द्रका अराजक तत्वहरू केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरूपयोग गरी झुटो प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानुनी कारबाही गर्नेछौं । तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’