काठमाण्डु, ५ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै जनता समाजवादी पार्टी (जसपा) बाहिरिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । जसपाबाट अलग भएपछि भट्टराईले जसपा पुगर्गठनको घोषणा गरेका थिए ।
ललितपुरस्थित एक घरमा बिहीबार बिहान प्रचण्ड र बाबुरामबीच वार्ता भएको थियो । भट्टराईले छलफल गर्दै जाने जवाफ दिएको प्रचण्डको निजी सचिवालय श्रोतले जनाएको छ । श्रोतका अनुसार केही समयअघिसम्म भट्टराई कम्युनिष्ट पार्टीको नामै सुन्न तयार थिएनन् ।
तर, जसपा छाडेपछि भने उनी परम्परागत धारको कम्युनिष्ट पार्टीबाट माथि उठ्ने सर्तमा नेकपा नाम राख्न सहमतजस्तै देखिन थालेका छन् । भेटमा प्रचण्डले पार्टीको नाम नेकपा समाजवादी केन्द्र प्रस्ताव गरेका थिए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भट्टराईसँग फेरि छलफल हुने जानकारी दिए । यसअघि प्रचण्ड र बाबुरामबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।