काठमाण्डु, ४ साउन– नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको पुबुदु दासानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाली टिम छाडेको घोषणा गरेको दुई घण्टामै उनलाई क्यानेडाले प्रशिक्षकमा नियुक्त गरेको हो । ५२ वर्षीय पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त भएको यो दोश्रोपटक हो । पुबुदु श्रीलंकाली मुलका क्यानेडियन नागरिक हुन् ।
पुबुदुले बुधकार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरी जिम्मेवारी छाडेको घोषणा गरेका थिए । उनलाई नेपाल क्रिकेट संघ क्यानले दोश्रो कार्यकालका लागि गत २५ मंसिरमा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
पछिल्लो समय नेपाली टोलीको एकपछि अर्को खराब प्रदर्शनका कारण पुबुदु निराश थिए । पत्रकार सम्मेलनमा उनले घरायसी कारणले टिम छाड्नुपरेको बताएका थिए । उनी यसअघि पहिलोपटक सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । सन् २०१५ मा विवाद भएपछि विवाद भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए । तर, आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए ।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकपसमेत खेलेको थियो ।