
काठमाण्डु, ३१ जेठ– साताको तेस्रो दिन आज पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ ।
नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो ।
त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो ।
गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तरुप गिरावट हँुदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ ।
यता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४८ अंकले घटेर ३८३ दशमलव ५१ बिन्दुमा ओर्लिएको छ ।
सेयर बजारसँगै लगानीकर्ताको मनोबल पनि घटिरहेको छ । बजारमा निरन्तर गिरावट आएसँग उनीहरु प्यानिक सेल गर्न थालेका छन् । सोमबार एक अर्ब पनि नपुगेको कारोबार आज बढेर एक अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
आज दिनभर २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।