ओलीमाथि देउवाको प्रतिप्रश्नः तीन वर्षअघि तयार भएको ईपीजी प्रतिवेदन किन सार्वजनिक गर्नुभएन ?

काठमाण्डु टुडे २०७९ जेठ १४ गते १९:४६ मा प्रकाशित

काठमाण्डु, १४ जेठ–प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई आफू प्रधानमन्त्री रहेका बेला नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन किन नबुझेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले तीन वर्षअघि नै तयार भएको प्रतिवेदन किन नबुझेको भन्दै ओलीमाथि प्रतिप्रश्न गरेका हुन् ।

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा वर्तमान सरकारले इपीजीको प्रतिवेदनमा के छ भन्नेबारे जनतालाई बताउनुपर्ने अभिव्यक्ति दिएका थिए । जब कि ओली प्रधानमन्त्री भएको केही समयपछि नै ईपीजी प्रतिवेदन तयार भएको थियो । उनी तीन वर्ष सरकारमा रहे ।

‘ईपीजीको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको सबैलाई थाहा छ ।  प्रतिवेदन त्यतिबेला नै किन बुझिएन ?’, देउवाले ओलीमाथि प्रश्न गर्दै भने । उनले प्रतिवेदन बुझ्ने वातावरण तयार पार्न सरकार निरन्तर प्रयासरत रहेको बताए । उनले कूटनीतिक विषयमा हल्का टिप्पणी नगर्न सुझाव दिँदै त्यसलाई सावधानीपूर्वक सञ्चालन गर्नुपर्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us