उपमेयरका उम्मेदवारले खुकुरी हाने

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:५६ मा प्रकाशित

दाङ, ३१ वैशाख– दाङको तुलसीपुर उपमहानरका उपमेयर उम्मेदवार सुशील गन्धर्व पक्राउ परेका छन् ।

प्रहरीले खुकुरी प्रहार गरेको आरोपमा गन्धर्वलाई पक्राउ गरेको हो । तुलसीपुर–४ स्थित गन्धर्वको घर नजिकै भएको चुनावी झडपमा उनले खुकुरी प्रहार गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले खुकुरी प्रहारबाट ४ जना घाइते भएको बताए ।

मतदान सकिएको केही समयपछि मदिरा सेवन गरेका गन्धर्व समूहले अर्को समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

मतदानका बेला गन्धर्वका छोरा सुमन गन्धर्व र अरु दलका युवाबीच विवाद भएको थियो ।

राति ९ बजेतिर सुमनलाई दिउँसो विवाद गर्ने युवाको समूहले कुटपिट गरेपछि सुशील खुकुरी बोकेर गएका थिए । उनले छोरामाथि कुटपिट गर्नेलाई खुकुरी हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us