श्रीलंकाका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, त्यसपछि आत्महत्या गरे

काठमाण्डु टुडे २०७९ वैशाख २७ गते ८:०२ मा प्रकाशित

एजेन्सी– श्रीलंकाका एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाएर आत्महत्या गरेका छन् ।

सरकार समर्थक र विरोधीबीचको प्रदर्शनका क्रममा भएको झडपमा सत्तारुढ सांसद अमरकीर्ति अथुकोरालले सरकारविरोधी समूहलाई लक्षित गर्दै गोली चलाएका थिए । लगत्तै उनले पेस्तोलबाट आफ्नै कञ्चटमा गोली प्रहार गरे ।

बीबीसीका अनुसार प्रदर्शनकारीले आफ्नो कार रोकेपछि उनले गोली चलाएका थिए । अमरर्कीर्तिको गोलीबाट एक जनाको घटनास्थलमै मृत्यु भएपछि उनी भागेका थिए ।

प्रदर्शनकारीको समूहले लखेटेपछि उनी एउटा भवनमा लुकेका थिए । आक्रोशित प्रदर्शनकारीले घर घेरा हालेपछि अमरर्कीर्तिले आफैंले आफैंमाथि गाली दागे ।

श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको थियो । अरु १ सय ३८ जना घाइते भएका छन् । आर्थिक संकटका बीच सुरु भएको सरकारविरोधी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us