काठमाण्डु, ३० चैत– निर्वाचन आयोगले राजनीतिक दलले स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने प्रावधान संशोधन गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आपत्ति जनाएकी छन् ।
उनले आयोगको असंवैधानिक निर्णय सच्याउन पनि माग गरेकी छन् । आयोगको निर्णयले नेपालको संविधानको धारा ३८ (४) को उल्लंघन भएको आरोप उनले लगाइन् ।
‘नेपालको संविधानको धारा ३८(४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु’, आरजुले सामाजिक सञ्जालमा लेखेकी छन् ।
आयोगले २२ चैतमा जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षकोमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने दलले महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरेको थियो ।
राजनीतिक दलहरुले आपत्ति जनाएपछि आयोगले मंगलबार विज्ञप्ति जारी गरी उक्त व्यवस्था सच्याएको हो ।
‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’, हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ’, आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।