२० वर्ष पुराना गाडी गुडाउन चलखेल

काठमाण्डु टुडे २०७८ चैत ३० गते ६:५५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन् ।

मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन् । मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने विषयमा मन्त्रालयमा छलफल भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।

विदेशी डलर सञ्चितिको मात्रा घटेको कारण देखाउँदै २० वर्षे थोत्रा गाडीलाई फेरि सडकमा गुडाएर सर्वसाधारणको जीउधनमाथि खेलबाड गर्न खोजिएको छ। २०७२ चैत १ गते केपी  ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट २०७३ फागुन १८ देखि २० वर्ष नाघेका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

त्यसैगरी सरकारले १ चैत २०७४ देखि मुलुकभर २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन गुडाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यस्तै १५ वर्ष पुगेका सार्वजनिक सवारीसाधनको हेरफेर दर्ता समेत नगर्ने निर्णय भएको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us