काठमाण्डु, २८ चैत– पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिएका छन् ।
काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उनको बयान लिएको हो ।
स्रोतका अनुसार धमलाले विमानभित्रको भएको घटनालाई लिएर दुख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको भ्रमणका विषयमा जनतालाई छिटो सुसूचित गर्नका लागि आफूले विमानभित्र लाइभ गरेको भन्दै उनले यदि आफ्नो क्रियाकलापबाट विमानका कर्मचारीहरूलाई अप्ठेरो परेको भए क्षमा याचना गर्ने बताए ।
उनले भने, ‘मैले आचारसंहिता अध्ययन गरेको रहन्छु । अब राम्ररी पढेर यसलाई मनन गर्छु र अरू पत्रकारहरूलाई पनि आचार संहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु ।’ धमलाले पत्रकार आचारसंहिता आफूले राम्ररी नबुझेको स्वीकार गरे ।