नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा

काठमाण्डु टुडे २०७८ चैत १७ गते १६:१७ मा प्रकाशित

काठमाण्डु, १७ चैत– नेपाल त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए। ३३ बलको सामना गरेका ऐरीले ३ चौका र ४ छक्काको मद्दतमा ६६ रन जोडे। यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहम्मद आदिल आलमले ३१ र कुशल भुर्तेलले १७ रन बनाए।

बलिङतर्फ पीएनजीका कबुआ मोरेआले ३, रिले हेकुरे २ तथा नोसाइना पोकाना र नोर्मान भानुआले एक–एक विकेट लिए।

२०४ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १६६ रन मात्रै बनाउन सक्यो। उसका लागि चार्ल्स अमिनीले ६२, टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

नेपालका लागि करन केसीले ह्याट्रिकसहित ५, सोमपाल कामी र अविनाश बोहोराले दुई–दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us