पाटन प्रिमियर लिग : उपाधि कैलपाललाई

रासस २०७८ फागुन २१ गते १२:५३ मा प्रकाशित

बैतडी, २१ फागुन–  बैतडीको पाटनमा  सम्पन्न  पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो ।

कैलपालको यो लगातार पाचौँ उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३÷२३ रन बनाए ।

पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे । श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनलसमेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए ।
उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । यस्तै सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए । पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए ।  सर्वोत्कृष्टले रु तीन हजार ३३३ तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए ।
विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे । पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । आगामी वर्षमा पनि यो प्रतियोगितालाई निरन्तरता दिँदै थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us