काठमाण्डु, ४ फागुन– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौताको विरोध गर्नेहरुले सरकारमा बस्न नमिल्ने बताएका छन् ।
भट्टराईले ट्वीट गर्दै एमसिसी समर्थक र विरोधी सँगै सरकारमा बस्न नमिल्ने बताएका हुन् । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले पनि हुने छुट नरहेको उनको भनाइ छ ।
भट्टराईको भनाइ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीतर्फ लक्षित छ । सत्ता गठबन्धनभित्रको प्रधानमन्त्री शेरबहादुर देउवाको दल काँग्रेस जसरी पनि एमसिसी संसदबाट अनुमोदन गराउने पक्षमा छ भने माओवादी र एकीकृत समाजवादी संशोधनबिना एमसिसी अघि बढाउन नहुने अडानमा छन् ।
‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन सरकारमा बस्न मिल्दैन’, भट्टराईले भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन ।’ भेडाभेडासँग र बाख्रा बाख्रासँग हुनुपर्ने तर्क उनको छ ।