
झापा, २९ माघ– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन् ।
उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचतकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखित रूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।