टी–२० सिरिजमा नेपाल यूएईसँग पराजित

काठमाण्डु टुडे २०७८ माघ २९ गते १७:४७ मा प्रकाशित

 एजेन्सी– ओमानमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।

युएईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १ सय ६७ रन मात्र जोड्न सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल १९ बलमा २२ रन र आसिफ शेखले २९ बलमा ३४ रन जोडे । आरिफ शेख ११ रनमा आउट भए ।

१८औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी ४१ रनमा आउट भए । ऐरीले ३३ बलमा ५ चौकाको योगदान गरे । राष्ट्रिय टिममा पहिलोपटक डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रन जोडे । शरद भेषवाकरले नटआउट १० रन जोडे ।

बलिङमा युएईका रोहान मुस्ताफा र करिफ दाउदले २÷२ तथा जुनइद सिद्धिकीले १ विकेट लिए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ३ विकेटको क्षतिमा १ सय ९२ रन जोडेको थियो ।
युएईका लागि चिराग सुरीले नटआउट ८४ रन जोडे । सुरीले ५३ बलमा ५ चौका र ५ छक्का हाने । बलिङमा नेपालका साहब अलाम, सन्दीप लामिछाने र आरिफ शेखले समान १÷१ विकेट लिए ।

यसअघि शुक्रबार पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब सोमबार आयरल्यान्डसँग खेल्ने कार्यतालिका छ । सिरिज समापनपछि नेपालले ओमानमै टी–२० विश्वकप छनोट खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us